सर्वदलीय बैठक एमालेबाट बहिस्कार


काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान बालुवाटारमा सर्वदलीय बैठक राखेका छन्।

‘हामी सर्वदलीय बैठकमा सहभागी हुँदैनौं,’ एमालेका एक नेताले सेतोपाटीसँग भने, ‘यो सरकारले असंवैधानिक ढंगले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।’ एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री देउवाले संसदमा देखिएको गतिरोध अन्त्य र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई सर्वदलीय बैठकमा बोलाएका थिए।

आफूहरूले कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको र पार्टी विभाजन गर्न सभामुख सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाइरहेको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा जाने कि नजाने भन्नेबारे आफूहरू छलफलमै रहेको बताए।