हार्डवेयर गोदाममा आगलागी


सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ । मंगलबार साह आइरन एण्ड इलेक्ट्रिक सेन्टरमा लागेको आगो दुधौली, बर्दिबास र रामेछापबाट समेत दमकल मगाएर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले ठूलो आगलागी भएकाले अन्यत्रबाट समेत दमकल मगाएर आगो नियन्त्रणमा लिइएको बताएका हुन ।

आगो नियन्त्रण बाहिर गएकाले एउटा मात्र दमकलले नसक्ने भएपछि थप तीनवटा दमकल मगाएर आगो नियन्त्रण गरिएको हो । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

सिकन्दर साहसहित दुई जनाको स्वामित्वमा रहेको सो गोदामका धेरै सामान जलेर नष्ट भएको एसपी थपलियाले बताए ।

बिजुलीको तार सट भएर आगलागी भएको र क्षतिको एकिन विवरण भने आइनसकेको बताइएको छ । सञ्चालक साहले भने आगलागीबाट करोडौंको क्षति भएको बताएका छन् । प्रहरीले क्षतिको मुल्याङकन गरेपछिमात्र सम्पूर्ण विवरण आउने बताएको छ ।