प्रधानमन्त्री देउवालाई चारबटा अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन निम्ता


काठमाडौं, कार्तिक ३०। प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने चारवटा अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको निम्तो पाएका छन्। नेपालमा संघीयता सफल कार्यान्वयनको चरणमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट निम्ता आएको हो । स्विट्जरल्यान्डमा हुने डाभोस फोरम, दुबई एक्स्पो र कतारमा हुने अति कम विकसित मुलुकको पाँचौँ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री देउवालाई निम्ता आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर, यी सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने या नहुने निश्चित भइनसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्।
ती अधिकारीहरुका अनुसार प्रधानमन्त्री देउवाले निम्तो पाएका फोरमका कार्यक्रम आउँदो मार्च महिनाभित्र फरक–फरक मितिमा हुने भएका छन्।

स्विट्जरल्यान्डको डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा वक्ताका रुपमा प्रधानमन्त्री देउवालाई निम्त्याइएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
२६–२९ जनवरी २०२२ मा हुने आगामी बैठक ‘दि ग्रेट रिसेट’ थिममा केन्द्रित हुनेछ। विश्व आर्थिक मञ्चको बैठक ‘भर्चुअल’ र ‘इन—पर्सन’ दुवै माध्यमबाट हुँदैछ।

विश्व आर्थिक मञ्चको बार्षिक बैठकलाई डाभोस फोरम पनि भन्ने गरिन्छ। यो विश्वको महत्वपूर्ण फोरममध्येमा पर्छ।

‘नेपालबाट प्रधानमन्त्रीको स्तरमा सहभागिता हुने बढी सम्भावना छ। तर ठोस निर्णय भइसकेको छैन,’ परराष्ट्रका एक अधिकारीले बताएको सन्तोष घिमिरेले लेखेका छन् ।

यसअघि सन् २०१९ जनवरीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आर्थिक मञ्चको बैठकमा सहभागी भएका थिए।

खाडी मुलुुक संयुक्त अरब एमिरेट्सले ‘एक्सपो दुबई’ मा नेपालबाट उच्चस्तरीय सहभागिताका लागि अनुरोध गर्दैै निम्तो पठाएको छ।

‘यूएईले प्रधानमन्त्री देउवाको सहभागिता अपेक्षा राखेको छ’ परराष्ट्र मन्त्रालयका नाम उल्लेख गर्न नचाहने एक अधिकारीले भने, ‘तर यसबारे कुनै निर्णय भइसकेको छैन।’

अक्टोबर १ मा सुरु भएको दुबई एक्स्पो ३१ मार्च २०२२ सम्म सञ्चालन हुनेछ। कोरोना महामारीका कारण दुबईले सो एक्स्पो सन् २०२० मा आयोजना गर्न सकेको थिएन।

विश्वकै ध्यान खिच्न सफल सो एक्सपोमा विश्वका विभिन्न मुलुकबाट शीर्ष नेता र उच्च सरकारी अधिकारी सहभागी भइरहेका छन्।

यूएन एलडीसी–५
प्रधानमन्त्री देउवालाई विश्वका अति कम विकसित मुलुकको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलन यूएन एलडीसी–५० मा सहभागिताका लागि निमन्त्रणा गरिएको छ।

सो सम्मेलन जनवरी २३ देखि २७ सम्म कतारको दोहामा आयोजना हुँदैछ।

‘यो सम्मेलनमा पनि प्रधानमन्त्रीकै तहमा सहभागिता होस् भनेर निमन्त्रणा आएको छ,’ ती अधिकारीले भने, ‘तर यहाँ पनि जाने या नजाने निर्णय भइसकेको छैन।’

यसअघि सन् २०११ मे महिनामा सो मञ्चको चौथो बैठक टर्कीको इस्तानबुलमा भएको थियो। त्यो बैठकमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल सहभागी भएका थिए।

चौथो सम्मेलनले ‘इस्तानबुल प्रोग्राम अफ एक्सन फर द लिस्ट डेभलप्ड कन्ट्रिज’ नामक घोषणापत्र जारी गरेको थियो। अब हुने पाँचौ बैठकमा उक्त घोषणापत्रको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ।

दोहामा हुन गइरहेको पाँचौँ सम्मेलनले अति कमविकसित मुलुकहरु (एलडिसिज) का लागि सन् २०३२ सम्मका लागि तयाँ कार्ययोजना पारित गर्नेछ। एलडिसिजले सन् २०३० भित्र दीगो विकासका लक्ष्य हासिल गर्न अघि बढाएका कामबारे पनि सम्मेलनमा छलफल हुनेछ।

त्यसैगरी अति कम विकसित मुलुकले भोगिरहेका गरिबीलगायत चुनौती सामना गर्न ठूला मुलुक, दातृ संस्था लगायत अन्तर्राष्ट्रिय तहबाट सहयोग जुटाउन पहल लिने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ।

डेमोक्रेसी समिट
अमेरिकी राष्ट्रपति जो बाइडेनले डिसेम्बर ९ र १० मा ‘डेमोक्रेसी समिट’ आयोजना गर्दै छन्। प्रधानमन्त्री देउवा यो कार्यक्रममा सहभागी हुने सम्भावना छ।

‘अमेरिकाले अनौपचारिक रुपमा देउवालाई उक्त समिटमा सहभागी हुन आग्रह गरिसकेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘औपचारिक निमन्त्रणा केही दिनभित्रै आउने जानकारी पाएका छौँ।’

प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको सहभागिताका सम्बन्धमा आवश्यक तयारी समेत अघि बढाएका छन्।

विश्वका एक सयभन्दा बढी मुलुकका उच्च नेतृत्वलाई निमन्त्रणा गरिएको छ।

राष्ट्रपति नियुक्त भएलगत्तै बाइडेनले अमेरिका र लोकतन्त्रमा विश्वास राख्ने विश्वका अन्य मुलुकबीच गठबन्धन हुने बताएका थिए।

त्यसयता अमेरिकाले ‘डेमोक्रेटिक अलाइ’ बीचको सहकार्य सुदृढ गर्दै चीन लगायत कम्युनिस्ट पार्टी शासित मुलुकलाई ‘काउन्टर गर्ने’ नीति अख्तियार गरेको छ। यही कारण ‘डेमोक्रेसी समिट’ लाई विश्वभर नै विशेष चासोका साथ हेरिएको छ।

सन् २०२२ पनि अमेरिकाले सोही समिट आयोजना गर्नेछ। उक्त समिट भने भौतिक उपस्थितिमै आयोजना हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। नेपालमा संविधान जारी भएसंगै विश्वभर नेपालप्रतिको आर्कषण बढेको छ । नेपालमा अन्तर्राष्ट्रिय लगानीको समेत वातावरण बनेको भएपनि विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीका कारण कार्यक्रमहरु स्थगित र भिडियो मार्फत हुने गरेका थिए ।