महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री देउवालाई अत्यधिक मत, आरजु सर्वसम्मत निर्वाचित


मङ्सिर ७ गते । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उहाँ महाधिवेशन प्रतिनिधिमा अत्याधिक मतसहित निर्वाचित हुनुभएको हो ।

मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताउनुभयो । बमका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो । देउवाले शतप्रतिशत मत भने पाउनु भएन, अधिकृत बंमले भन्नुभयो । काँग्रेस प्रतिनिधिमध्ये ५५ जनाले देउवालाई मत नदिएको उहाँले बताउनुभयो ।

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी हुनुभएको छ ।

यसैगरि डडेल्धुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा आरजू राणा देउवा सर्वसम्मत चयन हुनुभएको छ । खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनु भएको हो । सर्व सम्मत चयन हुनेमा सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा सर्वसम्मत रहनु भएको छ । महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषमा जनकराज चटौत, डम्बरराज जोशी, मीनबहादुर चन्द र सम्पन्न राज भट्ट निर्वाचित हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट (जोशी), पार्वतीदेवी झुकाल र मनकुमारी थापा निर्वाचित हुनु भएको हो । दलित महिला समावेशी महाधिवेशन प्रतिनिधिमा हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ग अल्पसङ्ख्यकतर्फ जयप्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएको केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निर्वाचन अधिकृत बमले जानकारी दिनुभयो ।