संवाद र सहकार्यमा जोड दिन प्रधानमन्त्री देउवाको आग्रह


प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक हुनुपर्ने बताएका छन् । आज नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई चितवनमा शुभकामना व्यक्त गर्दै देउवाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका हुन ।

‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य आवश्यक रहेको भन्दै ‘हामीबीच रहेका नीतिगत विमतिलाई संविधानले निर्धारण गरेको विधिमार्फत टुंगो लगाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले मुलुकमा देखिएका सबै समस्याको संवाद, छलफल र संविधानमार्फत समाधान निकाल्ने आफ्नो चाहना भएको उनको भनाई छ ।

सबै दल मिलेर नयाँ संविधान ल्याएको भन्दै प्रधानमन्त्री देउवाले यसलाई बलियो बनाउने जिम्मेवारी पनि सबै राजनीतिक दलको भएको बताएका छन् । संविधान कार्यान्वयन र लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न एमालेले जिम्मेदार भएर भूमिका खेल्नुपर्ने पनि उनले बताए ।

प्रधानमन्त्री देउवाले कानुनी शासन र व्यक्तिगत स्वतन्त्रता सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउने नै सबै दलको लक्ष्य भएको पनि बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट लीलामणी पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरु शुभकामना व्यक्त गर्न पुगेका हुन । प्रचण्डले निम्ता पाएर पनि सहभागी भएनन भने माधवकुमार नेपालको पार्टीलाई निमन्त्रणा समेत दिइएको थिएन ।