नेप्से सूचक दुई दिनमै १०१ अंकले गिरावट


साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा मौद्रिक नीतिको त्रैमासिक समीक्षाको असर देखिएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा पछिको दुई कारोबार दिनमै नेप्से सूचक १०१ अंक भन्दा धेरैले घटेको हो ।

आइतबार ८०.२९ अंकले घटेको नेप्से सूचक सोमबार पनि २१.५१ अंकले घटेको छ । आइतबार र सोमबार मात्रै नेप्से सूचक १०१.८ अंकले घटेको हो ।

नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा सम्बन्धी व्यवस्थामा संशोधन नगरेपछि शेयर बजारमा निरन्तर उच्च अंकको गिरावट देखिएको हो ।

सोमबार नेप्से परिसूचक २१.५१ अंक घटेर २६२९.९७ विन्दुमा बन्द भएको छ । २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर किनबेच भएर ४ अर्ब ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतवार ५ अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

आईसीएफसी फाइनान्सको शेयरमूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आईसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घट्दा चन्द्रागरी हिल्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।

 

सोमबार कारोबारमा आएका १३ वटा उपसमुह मध्ये २ उपसमुहको सूचक बढ्दा ११ उपसमुहको सूचक भने ओरालो लागेको छ । यस दिन म्युचुअल फण्डको सूचक ०.१२ प्रतिशत र हाइड्रोपावर उपसमुहको सूचक ०.०१ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमुहको सूचक भने सर्वाधिक २.२५ प्रतिशतले घटेको छ ।