सीपी मैनालीमाथि प्रचण्डको ब्यंग्य


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै ब्यंग्य गरेका छन् ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा प्रचण्ड भन्दा अगाडि मन्तव्य राखेका मैनालीले देशभक्तिको मामिलामा राजा महेन्द्रको योगदान सह्राहनीय रहेको भनेपछि प्रचण्डले उनीमाथि व्यंग्य गरेका हुन् ।

मैनालीले विगतमा सशस्त्र आन्दोलन झापा बिद्रोह गरेको स्मरण गर्दै प्रचण्डले अहिले भने उनको भाषा फेरिएको देख्दा अचम्ममा परेको बताए ।

‘उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ कि जस्तो लाग्यो, साँच्चै त्यसो हो भने सीपीजीलाई बधाइ छ’ उनले भने ।

प्रचण्डले आफूले भने त्यस्तो भाषामा कुरा गर्न नसक्ने बताए ।

अध्यक्ष प्रचण्डले राप्रपा महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् । उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् ।

मंगलबार भृकुटीमण्डपमा आयोजित उद्घाटसत्रलाई सम्बोधन गर्दै उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए । प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने रु तपाईँहरुले ठीक गर्नुभयो ।’

नेकपा एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशन उद्घाटनमा सहभागी नभएका प्रचण्ड राप्रपाको उद्घाटनमा पुगेका हुन । यता नेकपा अध्यक्ष ओली समेत राप्रपाको कार्यक्रममा सहभागी नभएका हुन । राप्रपा अध्यक्ष कमल थापा भने एमालेको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।