न्यायपालिकाको समस्या समाधानमा लाग्ने सभामुख सापकोटाको भनाई


सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने दाबी गरेका छन् ।

स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किने क्रममा सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दुवै समस्याको समाधान खोल्ने बताएका हुन ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए ।

सर्वोच्च र संसदको गतिरोधबारे सोधिएको प्रश्नमा उनले भने, ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु ।’

उनले अगाडि भने, ‘सर्वदलीय बैठक, अरु बैठक गरेर उपाय खोज्नका लागि म त्यसमै केन्द्रित भएर लाग्ने छु ।’

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।

नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई थिए । सोही प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईं विदेश गएका थिए । संसदमा एमालेको अवरोधकै कारण लामोसमयसम्म संसद चल्ने सकेन भने सर्वोच्च अदालतमा कानून व्यजवसायीहरुले प्रधानन्यायधिश चोलेन्द्र सम्शेर जवरा विरुद्ध आन्दोलन थालेपछि एक महिना देखि काम प्रभावित भएको हो ।