कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ए प्लस जीपीए


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।

तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २ सय ३९ छन् ।

७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५ सय ५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५ सय १५ जनाले ‘सी’ जीपीए ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।

बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४ सय ९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।

आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१।४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २५ हजार २ सय ८८ जना उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी ग्रेड वृद्धितर्फ ९१ हजार ९ सय सहभागी मध्ये दुई हजार ८ सय ८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ ।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।