नेकपा माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको छ । आज शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यलाई प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
यस्तै स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ । विधान परिमार्जन उपसमितिमा देवप्रसाद गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका प्रसाद यादव रहेका छन् ।
यो उपसमितिले आउँदो मङ्सिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता महराले बताए ।
यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमितिहरू बनाइएको बताए । बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको समेत भएको छ ।
प्रवक्ता महराले ‘राष्ट्रिय सम्मेलनको विषयमा प्रतिनिधि चयनका निम्ति हरेक प्रदेशले ३० जना ल्याउने र बाँकी पार्टी सदस्य नवीकरणको सङ्ख्याको आधारमा कुन प्रदेशले कति गर्यो त्यसको आधारमा गर्ने भन्ने निर्णय गरिएको छ ।
आउने प्रतिनिधिहरूको प्रवेश शुल्क तोकिएको छ । प्रत्येक पार्टी सदस्यलाई दुई हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।’ माओवादीले १० लाख पार्टी सदस्य भएको दाबी गरेको छ ।