१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ


१ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।

उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको जनाएका छन् । रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछी सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्रलोभन देखाई भण्डारी र भुजेल समेतको बैंक खाता नम्बरहरू प्रयोग गरी बिभिन्न मितिमा भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको  छ ।