आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने मौसम पूवानुमान महाशाखाले बताएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् ।
हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परेको थियो ।
मौसमविद् कँडेलका अनुसार भोलिदेखि पुनः अर्को पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीको प्रभाव रहनेछ । आज केही प्रदेशमा हुस्सु र कुहिरो लाग्नेछ । पहाडी भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।
उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा मध्यम खालको हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। राजधानीमा अत्याधिक चिसो बढेकाले सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।