राप्रपामा नयाँ नेतृत्वको लागि आज निर्वाचन, कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वको लागि आज निर्वाचन भएको छ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राप्रपामा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ ।चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा संयुक्तको एकतापछि पहिलो पटक महाधिवेशन भइरहेको हो । काठमाण्डौमा भइरहेको महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएको जनाइएको छ ।