चितवन राजनीतिको केन्द्र बनेको प्रचण्डको भनाई


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको बताएका छन् । नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले केही दिनअघि एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको पनि प्रचण्डले टिप्पणी गरे ।

‘हुँदाहुँदा अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेलाजस्तैगरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो ।

चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरुले देखेर गए नै । त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने कुरा पनि थापित गरेर गएको लाग्छ ।’

प्रचण्डले चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले ‘नेगेटिम्ली नलिएको बताउँदै भने, ‘यसलाई पोजेटिभ नै लिएको छु । किनभने, देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको हामी चितवनबासीहरुको लागि खुसी र गर्वको कुरो हो ।’

उनले एमालेमात्रै नभएर अरुअरु पार्टीहरुलाई पनि चितवनमै कार्यक्रम गर्न आग्रह गरे । यसअघि प्रचण्डले एमालेले आफूलाई सिध्याउने उद्देश्यले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका थिए ।

एमालेको महाधिवेशनअघि रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखेका थिए।

उनले भनेका थिए, ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन् । मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

प्रचण्डको यो अभिव्यक्तिको आलोचना समेत भएको थियो भने स्वयम् एमाले अध्यक्ष केपी ओलीले समेत प्रचण्डलाई जवाफ दिँदै आफ्नो जिल्ला झापामा पार्टीको महाधिवेशन गर्न सुझाएका थिए ।

एमालेको महाधिवेशन सकिएको केही दिनपछि भने प्रचण्डले आफ्नो बोली सच्याउँदै चितवनमा अरु पार्टीले कार्यक्रम गर्नु खुसीको कुरा भएको बताएका हुन् ।

प्रचण्डले आजै चितवनमा स्मार्ट लाइसेन्स नविकरण शुभारम्भ, प्रेस सेन्टर नेपालको केन्द्रिय भेलालाई उद्घाट्न गर्ने कार्यक्रम छ ।