प्रदेश १ मा संस्थापन पक्षको वर्चस्व : सभापतिमा उद्धव थापा दुई मतले विजयी


काठमाडौं, मंसिर २०। नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत प्रदेश १ मा संस्थापन पक्षको वर्चस्व देखिएको छ । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा देउवा पक्ष नै विजयी भएकाे छ ।

कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् । थापाले ८४४ मत पाएका छन् भने घिमिरेले ८४२ मत पाएका छन् ।

थापाले २ मत बढी प्राप्त गरेपछि मतगणनामा त्रुटि भएको भन्दै केही समय विवाद उत्पन्न भएको थियो । थापा संस्थापन पक्ष (देउवा–सिटौला गठबन्धन) का उम्मेदवार हुन् ।उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी भएका छन् । पाैडेल पक्षका गोविन्द प्रसाद ढुंगानाले ७६५ र विश्वनाथ रिजालले ६६९ मत पाए ।

महामन्त्रीमा पाैडेल पक्षका उमेश थापा र देउवा पक्षका भूपेन्द्र राई निर्वाचित भएका छन् । थापाले ८२३ मत पाए भने राई ८२४ मत पाए । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाएका छन् ।

सहमहामन्त्रीमा खड्ग फागो र प्रमिल गच्छदार निर्वाचित भएका छन् । फागोले १०२६ मत पाए भने गच्छदार ८३७ मत पाए ।सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाए । बाँकी सदस्यहरुको मत गणना जारी छ ।