न्यून विन्दुमा नेप्सेको कारोवार


मंगलबार नेप्से परिसूचक ओरालो लागेसँगै करिब साढे ७ महिना यताकै न्युन विन्दुमा पुगेको छ।यस दिन नेप्से परिसूचक ३७.१८ अंक घटेर २५०८.९० विन्दुमा झरेको छ। यस अघि २०७७ चैत २५ गते नेप्से २५०६.६२ विन्दुमा बन्द भएको थियो। त्यसयता, नेप्से गत कात्तिक ४ गते २५१०.७३ विन्दुमा बन्द भएकोमा यस दिन १.४६ प्रतिशत घट्दै सोभन्दा तल बन्द भएको छ।

मध्यान्हसम्म सकारात्मक रहेको बजार, त्यसपछि बिक्री चाप बढ्न थालेका कारण घट्न थालेको हो। पछिल्लो समय निरन्तरजसो घटिरहेको बजार, हिजो अर्थात सोमबार बढेको थियो। सोही बढेको मौका छोपेर लगानीकर्ताहरुले आफुसँगै भएको स्टक क्लियर गर्न थालेपछि यस दिन बजारमा दबाब परेको विश्लेषकहरु बताउँछन्।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.८५ अंक, फ्लोट इण्डेक्स २.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ कम्पनीको ४९ हजार ७४१ पटकको कारोबारमा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको ८३ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८२ प्रतिशत बढेको छ।

घटेका उपसमूहमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंक, आइसीएफसी फाइनान्स र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन मूल्य बढेका कम्पनीहरुको सूचीमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन्। मूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ७ वटा म्युचुअल फण्डहरु रहेका छन्। जसमध्ये सिटिजन्स म्युचुअल फण्ड २ र लक्ष्मी म्युचुअल फण्डको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।