कमल थापाले राप्रपा अध्यक्ष लिङ्देनले बोलाएको बैठकमा बहिस्कार


राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गर्ने भएका छन् । थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने अडान राख्दै बैठकमा सहभागी नहुने बताएका छन् ।

बुधबार राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी दिएका हुन् ।

उनले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका हुन् । यद्यपि थापाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई भने बैठकमा सहभागी हुन निर्देशन दिएका छन् । थापाले बुधबार एक विज्ञप्तिमार्फत राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका थिए ।

निर्मल निवासबाट भएको हस्तक्षेप यो पहिलो घटना नभएको पनि थापाको भनाइ थियो । उनले निर्मल निवासमाथि आफूले चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताए थिए ।