उपचार नपाएर २१ वर्षीया सुत्केरीको मृत्यु


बाजुराकी २१ वर्षीया एक सुत्केरीको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। जिल्लाको हिमाली गाउँपालिकामा समयमै उपचार नपाउँदा २१ वर्षीया सुत्केरीको मृत्यु भएको हो।

हिमाली–४ तिथिचौरकी २१ वर्षीया गंगा चदारको सुत्केरी हुँदा उच्च रक्तश्रावका कारण मङ्गलबार मृत्यु भएको हो। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार गंगाले घरमै नवजात शिशुलाई जन्मदिएकी थिइन्।

उपचार अभावमा उनको घरमै मृत्यु भएको हो । चदारका श्रीमान् बिनेले भने, ‘बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउनेबित्तिकै पेट दुख्यो भनिन्, केही समयपछि सुत्केरी भइन् तर, मरेको शिशु जन्मियो। केही बेरपछि उनको पनि मृत्यु भयो।’

चदार दम्पतीको पहिलो सन्तान छोरा छन्। गङ्गा गर्भवती भएको सात महिना मात्रै भएको थियो। उनले स्वास्थ्यचौकीमा तीनपटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ।

बाजुराका दुर्गम गाउँमा अझै स्वास्थ्यचौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ । घरमै सुत्केरी भएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगीकन झाँक्रीकहाँ लगिएको स्थानीयले बताएका छन्।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको दाबी समेत गरेका छन् । सरकारले सुत्केरी गराउँदा पोत्साहन भत्ता समेत दिने गरे पनि अझै धेरै महिलाहरु अस्पतालमा पुगी सुत्केरी गराउने गरेका छैनन ।