पौडेल पक्षमा सभापति उम्मेदवारको किचलो


नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति जुटाउन प्रयास गरेका छन् ।

उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ ।

बुधबार बत्तीसपुतलीमा बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले सहमतिमै सभापतिको उम्मेदवार तय गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमतिमा जोड दिएका छन् ।

सिंह र कोइरालाले सभापतिमा दावेदारी प्रस्तुत गरिरहेका छन् भने दुई नेताहरुबीच सहमति भएको खण्डमा आफू दावी छाड्न पौडेलका साथै शशांकले समेत तयार भइसकेको बताइसकेका छन् ।

यस्तो परिस्थितिमा केन्द्रीय सदस्यहरुको बैठकले सभापतिका आकांक्षी दुई नेताबीच सहमति नभए रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय भएको छ । यो प्रस्ताव उनीहरुले पौडेलसहितका नेताहरुकहाँ लग्ने भएका छन् ।

आजै पौडेल, कोइरालाद्वय र सिंहसहित केन्द्रीय सदस्यहरुको बैठक ३ बजेका लागि बोलाइएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुन लागेको अवस्थामा पौडेल समूहले हालसम्म सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन । त्यसकै लागि नेताहरु केही दिनयता निरन्तर छलफलमा रहेका छन् ।