कोदोमा पनि नेपाल परनिर्भर : पूर्वीनाका काँकडभिट्टाबाट चार महिनामा पाँच करोडको कोदो भित्रियो


काठमाडौं, मंसिर २३। पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा धेरैको कोदो नेपाल भित्रिएको छ । क्वरेण्टीन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा पाँच करोड १५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको एक हजार ६ सय १० मेट्रिकटन कोदो आयात भएको हो ।

अघिल्लो वर्ष चार महिनामा चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५ सय ७० मेट्रिकटन कोदो आयात भएको थियो । क्वरेण्टीन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तराखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । नेपाल २० वर्ष अघिसम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर थियो तर हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री हुन थालेको व्यवसायीको भनाइ छ ।

युवा पलायन हुने र कोदो खेती हुने जमिन नासिन थालेपछि नेपाल कोदोमा परनिर्भर हुन थालेको कृषि विज्ञले बताएका छन् । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको कृषि ज्ञान केन्द्र झापाका अर्थविज्ञ शालिकराम भट्टराईले बताउनुभयो । पछिल्लो समय होमस्टे, रेष्टुरेन्टमा कोदोको रोटी, ढिँढोको परिकार बनाउन समेत कोदो आयात हुने गरेको छ ।