भूमि आयोगको लेटरप्याड दुरुपयोग गरी नौ लाख ठगी गर्ने अभियुक्त पक्राउ


काठमाडौं, मंसिर २३। भूमि सम्बन्धी समस्या समाधान आयोगको लेटरप्याड, रबरछाप र अध्यक्षको दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा प्रहरीले कास्कीबाट एक जनालाई पक्राउ गरेको छ।

स्याङ्जाका् भिरकोट नगरपालिका ८ घर भई पोखरा महानगरपालिका ९ मा डेरामा बस्दै आएका ३३ वर्षीय उत्तम विक भनिने खेम बहादुर बस्याललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

विक सहितको समूहले भूमि आयोगको नक्कली कागज पत्रको आधारमा पोखरा १४ भोटेचौतारामा रहेको सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउँछौ भन्दै स्थानीयबाट नौ लाख ४६ हजार रुपैयाँ संकलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सो मुद्दाका केही आरोपी गत असोजमै पक्राउ परेका थिए। यो मुद्दाका मुख्य योजनाकार विकलाई भने प्रहरीले दुई दिनअघि पक्राउ गरेको हो। पक्राउ परेका विकलाई अदालतमा पेश गर्दा अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी माग गरेको थियो।

अदालतले भनेअनुसार धरौटी जम्मा गर्न नसकेपछि उनलाई कारागार कार्यालय कास्कीको थुनामा पठाईएको छ।