कांग्रेस महाधिवेशनमा कहाँ हुदाँ को भए सभापति ?


नेपालमा राण शासन विरुद्धको आन्दोलन गर्ने तयारी हुदै गर्दा भारतमा नेपाली कांग्रेसको स्थापना भएको हो । भूमिगत रुपमा राणा विरुद्ध आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसको प्रथम महाधिवेशन कोलकाताको भवानीपुरमा वि सं २००३ माघ १२ र १३ गते भएको हो ।

महाधिवेशनमा टङ्कप्रसाद आचार्य सभापति र बिपी कोइराला कार्यवाहक सभापति भएका थिए।
कांग्रेसको दोस्रो महाधिवेशन बनारसमा विसं २००४ माघ २० र २१ गते भएको थियो भने बिपी कोइराला सभापति निर्वाचित भएका थिए।

यसैगरी तेस्रो महाधिवेशन भारतकै दरभङ्गामा विसं २००५ फागुन १८ देखि २० गतेसम्म भई मातृकाप्रसाद कोइराला सभापति भएका थिए।

भारतकै कोलकातामा विसं २००६ चैत २६ र २७ गते भएको चौथो महाधिवेशनमा सभापतिमा मातृकाप्रसाद कोइराला पुनः सभापति बनेका थिए।

कांग्रेसको पाँचौं महाधिवेशन जनकपुरमा भएपछि बिपी कोइराला पुनः सभापतिमा निर्वाचित भएको कांग्रेसको इतिहास छ।

वीरगञ्जमा विसं २०१२ माघ ९ देखि १३ गतेसम्म भएको छैठौं महाधिवेशनमा सुवणर्शम्शेर राणा सभापति भएका थिए भने सोही अवधिमा विसं २०१४ जेठ १० देखि ११ गते विराटनगरमा भएको विशेष महाधिवेशनमा बिपी कोइराला सभापति भएका थिए।

विसं २०१७ वैशाख २५ देखि ३१ गतेसम्म काठमाडौंमा भएको सातौं महाधिवेशनमा बिपी कोइराला नै सभापतिमा निर्वाचित भएका थिए। विसं २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौं महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए।

यसैगरी विसं २०५३ वैशाख २६ देखि ३० गतेसम्म काठमाडौंमा भएको नवौं महाधिवेशन, विसं २०५७ माघ ६ देखि १० गतेसम्म पोखरामा भएको १०औँ महाधिवेशन र काठमाडौंमै विसं २०६२ भदौ १ देखि ४ गतेसम्म भएको ११ औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला लगातार तीनपटक सभापति भएका थिएर इतिहास राखेका थिए ।

कांग्रेसको विसं २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा भएको १२औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भएका थिए भने वर्तमान पार्टी सभापति देउवा विसं २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमै भएको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।
अहिले जारी कांग्रेसको १४ औं महाधिवेशनमा को सभापति हुने भन्ने बारेमा होडवाजी जारी नै छ ।