राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति नेकपा एमाले अध्यक्ष ओलीको खरो टिप्पणी


एमाले अध्यक्ष केपी ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि खनिएका छन् । लिङ्देनले जनताले नेतालाई चोरको रूपमा चित्रित गर्न थालेको अभिव्यक्ति दिएपछि ओली खनिएका हुन् ।

‘हरेक नेता चोर हुन्छ, यस्ता कुरा बोकेर हिँड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई’, ओलीले कटाक्ष गरे, ‘भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप होला । अलिक समयमा ठिक आउला भन्ने मलाई लाग्छ ।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने राजेन्द्रको अभिव्यक्तिप्रति विमति जनाउँदै जनताले नेताहरूलाई जनताले सम्मान नै गर्ने बताएका थिए । ‘एकजना वक्ताले नेताहरूलाई गाउँघरमा चोर आए भन्छन् जनताले भन्नुभयो । तपाईँहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू होइन यो गलत हो । यो केको निम्ति भनियो ।

जतिबेला राजनीतिक दललाई बदनाम गर्न खोजिन्छ । निरंकुश र तानाशाही जन्माउने षड्यन्त्र हो भने बुझ्नु पर्छ । कहीँ न कहीँ तानाशाही त्यसरी आउँछ । म यसतर्फ सतर्क गराउन चाहन्छु ।’