काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार बन्न नसकिरहेका बेला सभापति शेरबहादुर देउवालाई एक पछि अर्कोसाथ थपिँदै गएको छ । नेता कृष्णप्रसाद सिटौलाको साथ पाएका देउवालाई सभापतिका अर्का आकांक्षी गोपालमान श्रेष्ठले पनि साथ दिने बताएका छन् । देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधी सभापतिमा अघि सर्दा श्रेष्ठले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेका थिए । तर, निधी देउवा समूहमा नरहेर छुट्टै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधीले जानकारी दिएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्ने सम्भावना अहिलेसम्म पनि देखिएको छैन । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा थिए । तर सभापतिमा सहमति नजुटे पौडेल यो दौडबाट बाहिरिने मनस्थितीमा रहेको बताइएको छ ।
तर, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि पौडेल तनाबमा छन् । यद्यपि अन्तिम प्रयास स्वरुप अहिले पनि वार्ता जारी छ । शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ताको कार्यतालिका छ । निर्वाचन सोमबार हुनेछ ।