पार्टीका कमी कम्जोरी सच्याउन तयार छु :अध्यक्ष प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी चुनौति र अवसरको दोसाँधमा रहेको बताएका छन् । शनिबार प्रदेश सम्मेलनको भर्चुअल उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा कमी कमजोरी रहेको भन्दै त्यसलाई सच्चाएर क्रान्तिकारी पार्टीका रुपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको बताएका हुन् ।

‘विश्वमा हाम्रोमात्रै पार्टी त्यस्तो ठाउमा छ जसले विचारलाई विकास गर्ने सम्भावना पनि बोकेको छ । अहिलेका चुनौतीको सामाना गर्ने आधार पनि बोकेको छ र क्रान्तिको नयाँ मोडलको खोजी गर्नुछ’, प्रचण्डको भनाइ छ ।

उनले त्यस्तो नयाँ मोडल खोज्न सक्ने सम्भावना बोकेको पार्टी पनि माओवादी नै भएको बताए । उनले एमालेलाई पञ्चर्यालीको संज्ञा दिदै भर्खरै सम्पन्न एमालेको महाधिवेशनमा कुनै विचारको बहस नगरी व्यक्ति पूजाको कुरा गरिएको बताए । उनले नेपाली काँग्रेसको महाधिवेशन पनि हेरिरहेको भन्दै राष्ट्र कस्तो बनाउने भन्नेतिर काँग्रेसमा पनि बहस नभएको बताए ।

पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न आफैलाई रुपान्तरण जरुरी रहेको पनि प्रचण्डले बताए । ‘पार्टीभित्र यावत समस्याहरु छन्, गुटबन्दी, अराजकता, पदलोलुपका समस्या भएको सन्दर्भमा यो सवैको चुरो कारण न कार्यकर्ता हो न नेता हो ? ’प्रचण्डले भने, ‘यो व्यक्तिगत समस्याका रुपमा बुझ्नु हुदैन । यो वैचारिक स्पष्टताको अभाव हो ।’

उनले विचारमा स्पष्टता नहुँदा गन्तव्य चित्र क्लियर नभहुने भन्दै अध्यारो मात्रै देखिने बताए । ‘अध्यारो देखेपछि कसरी जाँगर आउछ ?’, प्रचण्डको प्रश्न छ । उनले सोही कुरालाई मध्यनजर गरेर आगामी पुसमा हुने सम्मेलनमा नयाँ दस्तावेज ल्याउने बताए ।