जन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृत्यु, आठ जना गम्भीर घाइते


काठमाडौं, मंसिर २६। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ। जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ। बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। घाइतको सनाखत हुन बाँकी छ। बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे।