ए डिभिजन लिगमा आज दुई खेल हुँदै


काठमाडौं, मंसिर २७। सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन् । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा सङ्कटा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन्। जावलाखेल र ब्रिगेडबीचको खेल पौने ५ बजे सुरु हुनेछ ।

आइतबार भएको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एपीएफले आफ्नो अंकको खाता खोलेको छ । एपीएफले शीर्ष डिभिजनमा खेलेको १५०औँ खेलमा थ्री स्टारलाई कडा चुनौती दिँदै अङ्क जोड्न सफल भएको थियो।

काठमाडौँको दशरथ रंगशालामा आइतबार साँझ भएको खेल गोलरहित बराबरीमा सकिँदा दुवै टोलीले अङ्क बाँडेका हुन् । खेल बराबरीमा सकिएसँगै पहिलो १ अङ्क जोडेको एपीएफ १३ औँ स्थानमा उक्लिएको छ भने थ्री स्टार ५ औँ स्थानमा उक्लिएको छ ।