अखिल क्रान्तिकारीका पदाधिकारी अझै टुंगिएनन


काठमाडौं, मंसिर २७।

नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरु टुंगो लगाएको छ । यता अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अखिलका अझै पनि टुंगो लागेको छैन ।

फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १९९ केन्द्रीय सदस्यहरुको नामावली टुंगो लगाएको हो । तर २४ सदस्यीय पदाधिकारी भने टुंगो लाग्न बाँकी नै छ ।

गत असोज १४ देखि १८ गतेसम्म चलेको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । १९९ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पदाधिकारी गठन गर्ने विधानमा व्यवस्था भए पनि जिम्मेवारी बाँडफाँट गरिएको थिएन् । केन्द्रीय समितिमा को–को रहने भन्ने पनि टुंगो लागेको थिएन ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् ।