भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल ट्वीटरको एकाउन्ट ह्याक भएको छ। भारतीय प्रधानमन्त्री कार्यालयले मोदीको एकाउन्ट ह्याक र पछि सो एकाउन्ट सुरक्षित फिर्ता ल्याइएको जानकारी दिएको छ।
मोदीको एकाउन्ट ह्याक गरी शनिबार राति एउटा ट्वीट पोस्ट गरिएको थियो। सो पोस्टमा भारतले बिट्क्वाइनलाई आधिकारिक कानुनी मान्यता दिएको उल्लेख थियो। साथै भारतले ५०० बिटक्वाइन खरिद गरेर मानिसहरुलाई बाँड्ने सो पोस्टमा बताइएको थियो।
केही समयपछि यो पोस्ट डिलिट गरिएको थियो। त्यस्तै किसिमको अर्को एउटा पोस्ट पनि मोदीको एकाउन्टबाट गरिएको थियो र केही समयमा सो पोस्ट पनि हटाइएको थियो।
प्रधानमन्त्री कार्यालयले सो एकाउन्ट ह्याक गरिएको समयमा भएको कुनै पनि ट्वीटलाई बेवास्ता गर्न आग्रह गरेको छ। सो एकाउन्ट कति समयसम्म ह्याक भएको थियो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।
यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि मोदीको ट्वीटर एकाउन्ट ह्याक भएको थियो र त्यसबाट राहत कोषमा क्रिप्टोकरेन्सीबाट पैसा जम्मा गर्न आग्रह गर्दै पोस्ट गरिएको थियो।