समाचार संकलनमा रोक लगाउनु निन्दनीय भएको पत्रकार महासंघको भनाई


नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेको घटनामा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको बताएको छ।

सोमबार मतदानको फोटो खिच्न मतदान स्थल जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले भित्र जान नदिई दुर्व्यवहार गर्दै समाचार संकलनमा रोक लगाएका थिए। पत्रकारलाई समाचार संकलनमा रोक लगाइनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादति भएको महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ‚ ‘नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादति हो।’

महासंघ पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।