गण्डकी प्रदेश माओवादी केन्द्रमा महिलाको नेतृत्व


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेशमा महिलाको नेतृत्वमा समिति चयन भएको छ । अध्यक्षबाहेक पदाधिकारी छनोट नगरी कमिटी गठन गरेको हो । माओवादी केन्द्रको पहिलो प्रदेश अध्यक्षमा गायत्री गुरुङ चुनिएकी हुन । गुरुङ नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत हुन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको केन्द्रीय सचिव समेत रहेकी गुरुङ माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिकामा सक्रिय थिइन् ।

पार्टीको पहिलो प्रदेश अधिवेशनले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने गुरुङको धारणा छ । प्रदेश अध्यक्ष बन्न केन्द्रीय र प्रदेश सदस्यहरुले पनि आकांक्षा देखाएका थिए । तर, केन्द्रीय सदस्यले प्रदेशमा अरुलाई नै जिम्मेवारी छोड्ने माओवादी केन्द्रको स्थायी समितिको पछिल्लो निर्णय अनुसार नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य राजकाजी गुरुङले बताएका छन् ।

नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् । ८ जना पदाधिकारीसहित २ सय २९ सदस्यीय समितिमा २ सय १ सदस्य छनोट भएको केन्द्रीय सदस्य गुरुङले बताए ।

१५ दिन अगाडि नै सम्पन्न भएको नेकपा माओवादी केन्द्रको पोखरा महानगर अधिवेशनले संगठनात्मक समिति बनाए पनि पदाधिकारी भने अझै चुन्न सकेको छैन । आकांक्षी धेरै हुँदा सर्वसम्मत गर्ने नाउँमा ९९ सदस्यीय कमिटीमात्र घोषणा गरिएको हो ।