एमालेको संसद अवरोध संविधान सम्मत नभएको सभामुख सापकोटाको आरोप


सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको बताएका छन् । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत नभएको बताएका हुन ।

उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे । उनले भने, ‘उहाँहरूले जे गरिराख्‍नुभएको छ त्यो संविधान, नियम, कानुनअनुसार छैन।

नेपाली जनताले यसलाई छर्लंग बुझेका छन्। जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रूपमै गरेको छु र अझ मैले भन्नुपर्दाखेरी मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधैभरी त्यही गर्न म प्रतिवद्ध छु।’

भोलिदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर संसद् सचिवालयको तयारीको अवलोकन गरेका छन्। संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परीक्षण भइरहेको पनि जानकारी दिएको संसद सञ्चालनले मा सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन्।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताए।

उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए। संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए।

उनले भने, ‘मुख्यत यो सदन भनेपछि पार्टीहरूकै भूमिका निर्णायक हुन्छ। सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख। संविधानले, नियमले, कानुनले निर्दिष्ट गरेको भोली नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ।

अरु त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो। मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, उहाँहरूलाई खुलाउनुस्, सुचारु गरौँ भनेर उहाँहरूसित छलफल गर्ने र फेरि पार्टीहरुसँग छलफल गर्ने, आवश्यकताअनुसार फेरि सर्वदलीय बैठकहरू गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ।’