विभिन्न सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


दाङ, तुलसीपुर उपमहानगरपालिका–३ श्रीखोला नजिक सडकमा तुलसीपुरबाट सल्यान कपुरकोटतर्फ जाँदै गरेको रा.१ ज ४३८ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ४ जनाको मृत्यु भएको छ ।

उनीहरुमध्ये ३ जनाको घटनास्थलमै र १ जनाको नेपालगंज नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य १६ जनामध्ये २ जनाको कोहलपुर मेडिकल हल र ७ जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

यता काठमाडौं, काठमाडौं महानगरपालिका–६ बौद्धस्थित सडकमा बा.५८ प ७७७३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–६ बौद्ध रामहिटी बस्ने नुवाकोट सिखुरे घर भइका ७४ वर्षीय कृष्ण बहादुर नेपालीको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ जयचोकमा बा.२० च २१६२ नम्बरको स्कारपियो र प्रदेश १.०२.०४४ प ९९४२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका–६ बस्ने ३४ वर्षीय शंकर पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पथरी अस्पताल पथरीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, बुढिगंगा गाउँपालिका–१ गंगा चोकमा प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ४० वर्षीय दिनेश पटेलको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यता चितवन, भरतपुर महानगरपालिका-१५ मंगलपुर चोकस्थित सडकमा से.१ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने तुल बहादुर मिङ्मी मगरको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।