नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा क्रान्तिकारी माओवादीसहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय एमसीएको कार्यालय घेराउ गरेका छन् ।
सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा क्रान्तिकारी माओवादीसहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।
घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए ।
उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली मंगलबार संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे ।
कार्यक्रममा नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए ।
उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत गरे ।