कांग्रेस महाधिवेशनमा मतपत्र सकिएपछि मतदान रोकियो


नेपाली कांग्रेसको जारी चौधौँ महाधिवेशन अन्तर्गत सोमबार बिहानदेखि जारी मतदान मतपत्र सकिएपछि रोकिएको छ।

सभापति पदमा दिउँसो सवा ३ बजेसम्म १५ सय बढी मत खसेको थियो। यस्तो अवस्थामा केही बेरअघि मतपत्र नै सकिएपछि मतदान रोकिएको हो।

मतपत्र सकिएकाले सभापतिसहित सबै पदको मतदान रोकिएको हो । प्रेसमा छापिएर तयार भइसकेको मतपत्र अहिले आउने क्रममा छ। प्रेसमा मतपत्र तयार भइसकेर आएपछि केही बेरपछि मतदान अघि बढ्ने बताइएको छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि नेता कुलबहादुर गुरुङले बिहान ११ बजेर २३ मिनेटमा पहिलो मतदान गरेका थिए।

कागजको मतपत्र भएकाले २९ वटा मतपत्रमा मतदान गर्न एकजना महाधिवेशन प्रतिनिधिलाई झण्डै एक घण्टा लाग्ने गरेको छ।

निवर्तमान सभापति शेबहादुर देउवाले सबै पदमा मतदान गर्न करिब एक घण्टा समय खर्चिएका थिए। निवर्तमान महामन्त्री पूर्णबहादुर खड्काले आफूलाई ५० मिनेट समय मतदानमा लागेको बताएका छन्।