गरिब देशका लागि विश्व बैंकको ९३ अर्बको राहत


विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका कम आय भएका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासका लागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ। कोभिड–१९ महामारीबाट संकट परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यो सहयोग घोषणा गरिएको हो।

कुल प्याकेजमध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता गरेका हुन भने बाँकी रकम पूँजीबजार, साँवा भुक्तानी र विश्व बैंकको आफ्नै स्रोतबाट बाँकी रकम योगदान गरिनेछ।

जापानले भर्चुअल रूपमा आयोजना गरेको दुई दिने बैठकमा सहमति भएको वित्तिय प्याकेज अन्तर्राष्ट्रिय विकास संघकोे ६१ वर्षको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हो। दाताहरूले अन्तर्राष्ट्रिय विकास संघमा योगदान गर्ने हरेक १ डलरले गरिब देशहरूका लागि करिब ४ डलर आर्थिक सहायतामा लिभरेज भएको विश्व बैंकले जनाएको छ।

विश्व बैंकका अध्यक्ष डेभिड माल्पसले साझेदार मुलुकहरुको उदार सहयोगले कोभिडबाट प्रभावित विश्वका गरिब देशको विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानिसहरूको जनजीवन सुधार गर्न सहयोग पुग्ने बताएका छन्।

यो सहयोग विश्वका ७४ गरिब देशले प्राप्त गर्नेछन्। खासगरी राजस्व परिचालन घट्दै गएको, ऋणको जोखिम उच्च रहेका, कमजोर र द्वन्द्वग्रस्त वा द्वन्द्वबाट बाहिर आएका, अस्थिरता धेरै भएका र साक्षरता कम भएका देशहरूले प्राप्त गर्नेछन्। करिब एक तिहाई देशहरुले खाद्य संकटको समेत सामना गरिरहेका छन्।

गरिब देशहरुलाई हरियाली बनाउन मद्दत गर्न एवम् जलवायु परिवर्तनको सामना गर्न यो प्याकेजको ठूलो हिस्सा खर्च हुनेछ। बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण गर्न, महामारी र प्राकृतिक प्रकोपलगायतका संकटका लागि अझ राम्रोसँग तयारी गर्न सरकारहरुले यो रकम खर्च गर्नेछ।