अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । बधुबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।
उहाँले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउनुहुँदै विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताउनुभएको हो ।
बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्ने बताउनुभयो । ‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उहाँले भन्नुभयो, ‘एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’
नीति परिमार्जन गर्ने बारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिनुभयो । यसलाई आगामी आर्थिक वर्षमा समेटिने समेत उल्लेख गर्नुभयो ।
उहाँले कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने बताउनुभयो । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको हो । यसले मुलुकलाई उत्पादनुमुखी अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यस्तै निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्नुहुँदै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि बताउनुभयो ।