कांग्रेस महाधिवेशन : खुल्लातर्फका केन्द्रीय सदस्यको मतगणना आज


काठमाडौं, पुष ०३। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज खुलातर्फका केन्द्रीय सदस्यहरुको मतगणना सुरु हुँदैछ । मतगणना आज (शनिबार) बिहान १० बजेबाट सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको विधानअनुसार केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ । ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

खुलातर्फको यस समूहमा चर्चित अनुहारदेखि लिएर पूर्व पदाधिकारीहरु र निनान्त नयाँ अनुहार समेत रहेकाले यसको नतिजा चासोका साथ हेरिएको छ । सुरुमा सभापतिका आकांक्षी भए पनि अन्तिम समयमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका निवर्तमान महामन्त्री डा. शशांक कोइराला तथा सभापतिकै अर्का आकांक्षी गोपालमान श्रेष्ठले समेत केन्द्रीय सदस्यमै उम्मेदवारी दिएका थिए ।

१४ औँ महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी निर्वाचित भइसकेका छन् । तर मतगणनामा भने ज्यादै ढिलाइ भइरहेको गुनासो समेत बढिरहेको छ । एउटा पद वा समूहको मतगणना सकिएपछि मात्रै अर्को पद वा समूहको गर्ने व्यवस्थाले ढिलाइ भएको हो ।