बार्सिलोनाको सघंर्षपूर्ण जित


काठमाडौं, पुष ०४। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सघंर्षपूर्ण जित निकालेको छ । गएराती भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता लिए पनि इल्चेले ६२ र ६३ औँ मिनेटमा दुई गोल फर्काएपछि खेल रोचक अवस्थामा पुगेको थियो ।

८५ औँ मिनेटमा निकोलस गोन्जालेजले निर्णायक गोल गरेपछि बार्सिलोना विजयी भएको हो । त्यसअघि फरेन जुट्ग्ला र गाबीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउँदै गोल गरेका थिए । इल्चेका लागि जोसे एन्टोइनी मोरेन्टे र पिर्रे मिल्लाले बराबरी गोल मात्रै गर्न सके । जितपछि बार्सिलोना १७ खेलबाट २७ अंकसहित सातौँ स्थानमा छ । पराजित इल्चे भने १५ अंकसहित १८ औँ स्थानमा छ ।

अर्को खेलमा सेभिल्लाले एट्लेटिको मड्रिडलाई २–१ गोलले हरायो । जितपछि सेभिल्ला १७ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ । पराजित एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा छ भने समान खेलबाट ४२ अंकसहित डिफेन्डिङ च्याम्पियन रियल शीर्ष स्थानमा छ ।