कैलालीमा युवकको विभत्स हत्या : प्रहरीले पायो हत्यापछिको फोन रेकर्ड


काठमाडौं, पुष ०४। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड बाहिरिएको छ। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको हो। फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन्। मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाटी अलग छ शरिर अलग छ। तपाईँ एक/दुई दिनमा थाँहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन्।

प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ। उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ। त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ। कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते नै तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेकोथियो।‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौं,’ एसपी अधिकारीले  भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।

शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ। डग स्निफिङ पनि गराइएको छ।’स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन्। जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।स्थानीयका अनुसार दास भने नेपाल–भारत गरिरहन्थे। एक प्रहरी अधिकारीका अनुसार लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै सो क्षेत्रमा लागुऔषधकै विषयमा भएको विवादले विभत्स हत्या भएको हो।