रेलवे अध्यादेश स्वीकृत


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकै बीच रेलवे लगायतका चारवटा अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएका छन् ।

एमालेका अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरिएको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीनवटा अध्यादेश सम्बन्धि प्रस्ताव स्वीकृतिका लागि निर्णयार्थ पेश गरेका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन्।

तर ती प्रस्तावहरुको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराएका छन् । लगातारको संसद बैठकमा एमालेको अवरोधका कारण संसदीय कामकारवाही प्रभाावित भएको समयमा आजको बैठकले ४ वटा अध्यादेश स्विकृत गरेको हो ।