माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी तीव्र


नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको जनाएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिएका हुन । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।

सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि घनिभूत छलफल हुनेछ । त्यसका लागि अहिले प्रचण्ड राजनीतिक दस्तावेज लेख्न व्यस्त रहेको जनाएको छ । महराले नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिकारी नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै २१औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको बताए । राष्ट्रिय सम्मेलनमा पार्टीले भोगेका सम्पूर्ण विषयमाथि पनि समीक्षा हुने महराले बताए ।

‘हामी किन साना भयौं, ठूलो हुँदा के गर्‍यौं भन्ने लगायतका विषयमा राष्ट्रिय सम्मेलनमा छलफल गर्नेछौं’, महराले भने, ‘फरक पार्टी बनाउन खोजेका छौं, फरक भनेको जनवादी केन्द्रीयता नै हो ।’

महराले राष्ट्रिय सम्मेलनको प्रचारप्रसार पनि तीव्र पारिएको बताए । भक्तपुर, ललितपुर र काठमाडौमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्ने लगायतका काम सुरु भएको छ । सम्मेलनमा प्रदेश, सल्लाहकार, विभाग, आयोग, जेष्ठ मञ्च, भ्रातृ संगसंगठनलगायतबाट समेत गरी करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । ँ