बेलायतमा दैनिक १ लाख भन्दा बढि कोभिड संक्रमित


बेलायतमा कोभिड–१९ का दैनिक संक्रमितको संख्या पहिलो पटक एक लाख नाघेको छ । बुधबार बेलायतमा कोरोना भाइरसका एक लाख ६ हजार १ सय २२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै दैनिक कोरोना संक्रमितको संख्या महामारी सुरु भएयता पहिलो पटक एक लाख नाघेको छ ।

बेलायतमा अति संक्रामक ओमिक्रोन भेरियन्ट व्यापक बनेपछि दैनिक संक्रमितको संख्या निरन्तर बढ्न थालेको हो । तर अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको संख्या भने स्थिर देखिन्छ । त्यहाँ बुधबार १४० जना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच, स्कटल्याण्ड र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले कोभिड – १९ का अन्य भेरियन्टभन्दा ओमिक्रोनका लक्षण सामान्य रहेको देखाउँछन् । त्यस्तै, लण्डनस्थित इम्पेरियल कलेजले गरेको छुट्टै विश्लेषणले म्युटेशनका कारण डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण सामान्य भएको देखाउँछ ।