वीरगन्ज भन्सारबाट पाँच महिनामा ८८ अर्ब रुपैयाँ राजस्व संकलन


देशकै मुख्य व्यापारी नाका वीरगन्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो।

आर्थिक वर्ष २०७७÷७८को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ।

यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो। विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा छ अर्ब आठ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताए।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो। नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको राससले जनाएको छ।