एमसीसी कै कारण सत्ता गठबन्धन तोडिन्न : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अनावश्यक दबाब नदिने अपेक्षा गरेको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले एमसीसीकै कारण गठबन्धन नतोडिने समेत दाबी गर्दै प्रधानमन्त्रीबाट दवाव नआउने विश्वास व्यक्त गरेका हुन ।

प्रधानमन्त्री देउवा अमेरिकी अनुदान सहयोग एमसीसी पारित गर्नुपर्ने पक्षमा ओकालत गर्दै आएका छन् । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन गरेर अघि बढ्नु पर्ने धारणा राखिरहेका छन्।

हिजोमात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो। बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने एमसिसीबारे कि भन्ने थियोु, प्रचण्डले भने, हाम्रो राष्ट्रिय सम्मेलन आइसक्यो भनेपछि उहाँले हुन्छ हुन्छ राष्ट्रिय सम्मेलनपछि गरौँ भनेर सहज ढंगले सहयोगी रूप देखाउनुभयो। प्रधानमन्त्रीले पनि यो विषय बुझ्नुभएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने लाग्दैन प्रचण्डको भनाई छ ।

एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताए ।

‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्‍यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्‍यो’ प्रचण्डले भने ।

तर जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने भन्दै प्रचण्डले विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताए ।