प्रदेश २ को मधेस नाम सहमति नजिक


प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी जसपा, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रस्ताव गरेका छन् ।

बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाएकी छन् ।

प्रदेशसभामा धारणा राख्दै जसपा सांसद यादवले यहाँका जनताको पहिचान मधेस नै भएकाले प्रदेशको नाम मधेस राख्नुपर्ने बताए । आन्तरिक मामिला तथा सञ्चार मन्त्री समेत रहेका माओवादीका सांसद साहले मधेस प्रदेश बनाउन सफल भए खस अहंकारले ग्रसितहरुका लागि सबक हुने बताए ।

लोसपा सांसद रानी तिवारीले प्रदेशको नाम मधेस नामाकरण भए शहीदको सपना साकार हुने बताएकी हुन ।