राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयअवधि सकियो बाँकी काम सरकारको जिम्मामा


भूकम्पपछि स्थापना गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६ वर्षको कार्यकाल समाप्त भएको छ । २०७२ साल बै्रशाख १२ गतेको भूकम्पले क्षति गरेका संरचना र प्रभावितलाई छानो दिन गठन गरिएको प्राधिकरणले आफ्नो कार्यकाल पुरा गरेर बिहीबार जिम्मेवारी हस्तान्तरण गरेको छ ।

प्राधिकरणले सिंहदरबारमा औपचारिक कार्यक्रम गरेर गृहमन्त्री बालकृष्ण खाणमार्फत आफ्नो जिम्मेवारी सहरी विकास मन्त्रालय र विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । पुनर्निर्माण प्राधिकरणले २०७२ पुस १० बाट काम थालेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणले प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणमा महत्वपूर्ण काम गरेको बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बर्हिगमन कार्यक्रमलाई सम्बोधन गर्दै खाणले प्राधिकरणले ६ वर्षे कार्यकालमा अन्तर्राष्ट्रिय क्षेत्रका प्राज्ञले समेत अनुसन्धान गर्न योग्य काम गरेको दाबी गरे ।

‘६ वर्षे कार्यकालमा भूकम्पले क्षति गरेका संरचना निर्माणमा महत्वपूर्ण कार्य सम्पादन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ,’ खाणले भने– ‘प्राधिकरणको काम यस सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञलाई पनि काम लाग्छ ।’

पुरातात्विक महत्वका संरचनाको निर्माण ज्यादै जटिल र चुनौतिपूर्ण भएपनि प्राधिकरणले मन लगाएर पुनर्निर्माण गरेको भन्दै गृहमन्त्री खाणले सरकार र जनताको तर्फबाट प्राधिकरणलाई धन्यवाद दिए ।
यो अवधिकाा राजनीतिक उतार चडाव र राजनीतिक दाउपेजमा प्रमुख कार्यकारी अधिकृत पटक पटक परिवर्तन भएका थिए ।