संघीय शिक्षा ऐन छिटै ल्याउने : शिक्षा मन्त्री पौडेल


शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बैठकमा मन्त्री पौडेलले शिक्षा सम्बन्धी छिटोभन्दा छिटो संघीय ऐन संसद्मा लैजाने तयारी गरिएको बताउनुभएको हो ।

‘होहल्ला गर्ने विधि भन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं, उहाँले भन्नुभयो, ‘यसका लागि समितिका सदस्यहरुले सहयोग गर्नपर्छ ।’

बैठकमा संघीय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन र उच्च शिक्षा ऐनको बारेमा बोल्दै उहाँले –‘लामो समयदेखि यी ऐनहरू रोकिएकाले माध्यमिक, प्राविधिक तथा उच्च शिक्षामा असर परिरहेको छ । यी ऐनका मस्यौदा तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । फास्ट ट्रयाकबाट भए पनि ल्याउँछौँ ।’

पूर्वशिक्षा मन्त्रीहरुले गरेको कामलाई निरन्तरता दिँदै संघीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षहरुसँग छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
‘कसैका प्रेसरले हँदैन,’ उहाँले भन्नुभयो,‘ सम्बन्धित सरोकारवाला पक्ष र विज्ञका कुरा बाहेक अन्य व्यक्तिको प्रेसर स्वीकार्य छैन ।’
स्थानीय र प्रदेश सरकारलाई संघीय सरकारको काम कतव्र्य प्रत्यायोजनको चरणमा रहेकाले धेरै कुराहरु संघीय शिक्षा ऐनले सम्बोधन गर्ने बताउनुभयो ।

इसिडिका शिक्षकको विषयमा स्थानीय तहलाई पारिश्रमिक दिन मन्त्रालयले सर्कुलर गरेको बताउँदै यस थप बलियो बनाउन ऐनमा समावेश गर्ने मन्त्री पौडेलको भनाइ छ ।

‘बिसौं वर्षदेखिका समस्या छन्’ उहाँले भन्नुभयो यी समस्या समाधान गर्न सबैभन्दा ठूलो ऐन नै हो ।’ चीनमा अध्ययन गरेका विद्यार्थीहरुको समस्या समाधानका लागि मन्त्रालयले प्रक्रिया शुरु गरेको बताउँदै चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नभयो ।

पौडेलले शिक्षक सेवा आयोगको ११ औं सशोधन नियमावली मन्त्रिपरिषद्ले पास गरेको बताउँदै शिक्षकहरुको आन्तरिक बढुवाको काम शुरु भएको पनि जानकारी दिनुभयो ।

बैठकमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्लानिङ कमिसनले तयार पारेको १५ औं योजना र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

उहाँले विभिन्न कलेजले विद्यार्थीबाट मापदण्डविपरित पैसा उठाइरहेको भन्दै यसमा अनुगमन गरी कारबाही गर्न ध्यानाकषर्ण गराउनुभयो ।
यस्तै, खगराज अधिकारीले विद्यार्थीका अभिभावकहरुको दायित्वको विषयमा पनि कानुनमा व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो ।
जनशक्ति कसले उत्पादन र कति उत्पादन गर्ने हो भन्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल गर्न मन्त्रालयलाई सुझाव दिनुभयो ।

यस्तै,अञ्जना विसुङखेले नेपालमा भएका परम्परागत शिक्षालाई प्रविधिसँग जोड्दै इन्टरनेटको मूल्य बढी भएकोमा ध्यानाकर्षण गराउनुभयो ।

सदस्य एकपाल मियाँले संघीय शिक्षा ऐन आउने कहिले हो भन्दै प्रश्न गर्नुभयो । ‘संघीय शिक्षा ऐन आउँछ भनेको दुई वर्षभयो,’ उहाँले भन्नुभयो, ‘अब कहिले आउने हो समयतोकिन पर्यो ।’

समितिकी सदस्य विद्या भट्टराईले प्राविधिक धार (९–१०) लाई व्यवस्थित गरी प्रभावकारी दिन नसकेको बताउँदै पूर्वाधार निर्माणका लागि ऐन आवश्यक पर्ने बताउनुभयो ।