बाङ्ग्लादेशमा तीनतले डुङ्गामा आगलागी


बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। त्यहाँको सुगन्धा नदीमा सो डुंगा दुघटना भएको हो।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसी बाङ्ग्लालाई बताएका छन् । डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्। डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ।

मृतक बढ्ने अनुमान
अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ। एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि हिडेको थियो।

यात्रु के भन्छन् ?
शुक्रवार सखारै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो। आगलागीको कारण स्पष्ट हुन सकेको छैन। बाङ्ग्लादेशमा बारम्बार डुङ्गाको सुरक्षा स्थिति राम्रोसँग जाँच नगरिनु, सुरक्षा मापदण्डको अभाव र क्षमताभन्दा बढी यात्रु बोक्नुका कारण हुने गरेको बताइन्छ।

घाइतेहरूलाई बरिसल सदर अस्पताल र स्थानीय अस्पतालमा लगिएको बताइएको छ। झालकोटीका स्थानीय पत्रकार आकाश सिकदरले बीबीसी बाङ्ग्लालाई बताए अनुसार उनले बिहान ३ः३० बजे आगलागीको समाचार पाएका थिए।

उनले कैयौँ मानिसहरू ज्यान जोगाउन डुङ्गाबाट पानीमा हाम फालेको बताए। यात्रुहरूलाई उदृत गर्दै पत्रकार सिकदरले भने, ढाकाबाट सो डुङ्गा रमाना भएका बखत नै सामान्यभन्दा धेरै तातो थियो। यात्रुहरूले गुनासो गरेपछि डुङ्गा कर्मचारीले कार्पेट ओछ्याइदिएका थिए। तर तातोपन बढ्दै गयो।अन्ततः आगलागी नै भएको बताएका छन् ।