गण्डकी प्रदेशका ११ जिल्लामा खेल प्रस्ताव


गत वर्ष फागुन अन्तिम साता निर्धारित गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण तोकिएको समयमा हुन सकेन।

हरेक दुईरदुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुदको नवौँ संस्करण आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशलाई छ। विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँको जिम्मेवारी गण्डकीले पाए पनि निर्धारित मितिमा सम्पन्न गर्न कोरोना बाधक बन्यो।

राष्ट्रिय खेलकुद परिषद्९राखेप०ले गत वर्ष रोकिएको राष्ट्रिय खेलकुद यस वर्ष गर्ने योजनामा छ। आगामी वैशाखरजेठमा प्रतियोगिता गर्ने योजना सरकारको छ। प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले खेलस्थल छनोट, पूर्वाधार अनुगमन तथा प्रशिक्षणलगायत केही तयारी सुरु गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगितामा कूल ३५ खेल सञ्चालन हुनेछन्। यस वर्षदेखि लोकदोहोरी तथा लोक नृत्यलाई पनि राष्ट्रिय खेलकुदमा समावेश गर्न प्रस्ताव गरिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गण्डकीका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राखेपमा प्रस्ताव पठाएको छ। अधिकांश खेल पूर्वाधार र प्रदेश राजधानी भएकाले पोखरा रङ्गशालामा सञ्चालन हुने भए पनि सबै जिल्लामा प्रतियोगिताको रौनक र अपनत्व होस् भनेर सबैलाई समेटेर प्रस्ताव पठाइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए।

जिल्लामा खेलाडीको खेलप्रतिको आकर्षण तथा बढ्दो खेलाडीको चापलाई मध्यनजर गरी ११ वटै जिल्लामा खेलस्थल तय गरिएको उनले बताए। पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल,हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा खेलाउने योजना रहेको राससले लेखेको छ ।

यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पोखरामा प्रस्ताव गरिएको छ। महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला र पुरुष) बाग्लुङ, कराँते (महिला र पुरुष) लमजुङ, टेवलटेनिस (महिला र पुरुष) मुस्ताङ, कवड्डी, कुस्ती र खोखो ) (महिला र पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला र पुरुष) गोर्खामा खेलाउने योजना छ।

यसैगरी बाँस्केटबल (महिला र पुरुष) तनहुँ, बुद्धिचाल (महिला र पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला र पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराँते (महिला र पुरुष) स्याङ्जा र फेन्सिङ (महिला र पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ। यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोक दोहोरी तथा लोक नृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ।

राष्ट्रिय खेलकुदका लागि पोखरामा सुटिङ, पौडी पोखरी, हक्की बाहेकका पूर्वाधार तयारी अवस्थामा छन्। सुटिङ र पौडी पोखरीका लागि राखेपले निर्माण प्रक्रिया अघि बढाएको बताइन्छ। राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट रु १६ करोड हाराहारीमा बजेट विनियोजन गरिएको छ।

नवौँलाई लक्ष्य गरी पोखरामा विभिन्न खेल सङ्घले खेलाडी प्रशिक्षण तथा अभ्यास सुरु गरेका छन्। मुख्य खेलको प्रशिक्षण सुरु भएको छ। कोरोनाले रोकिएका खेल गतिविधि नियमित बन्दै जाँदा खेलकुद लयमा फर्किन थालेको छ।

प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी खेल सङ्घहरुलाई खेल सामग्री उपलब्ध गराउन रु ५० लाख बजेट विनियोजन गरेको छ। खेलकुदको मिति तय भएपछि आवश्यक खेल सामग्री उपलब्ध गराइने परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए। यसैगरी प्रदेश सरकारले पनि खेल पूर्वाधार निर्माणका लागि रु दुई करोड बजेट छुट्टाएको बताइन्छ।